चाडबाडको शुभकामना दिन घर–घर पुग्दैछन् गजुरमुखीका प्रहरी
इलाम- दसैं भित्रिइसक्दा कोही खानपानमा रमाउन थालिसकेका छन्, कोही टीका लगाउने, आफन्त भेट्ने र नयाँ ठाउँ घुम्ने योजना बुनिरहेका छन् । तर, प्रायः सुरक्षाकर्मीलाई अरूलाई जस्तो परिवारसँग भेला भएर चाडबाड मनाउने अवसर चाहिँ विरलैमात्र आउँछ ।
भौगोलिक हिसाबले सदरमुकामबाट टाढा रहेको गजुरमुखी प्रहरी चौकीका प्रहरीलाई पनि यो साल आफू रमाउनेखालको दसैं आएको छैन । तर, उनीहरू स्थानीयलाई ढुक्कसँग चाडबाड मनाउने वातावरण बनाइदिन दिन–रात घरदैलोमा खटिरहेका छन् ।
माङ्सेबुङ गाउँपालिका १ को गजुरमुखी प्रहरी चौकीका प्रहरीहरू अहिले दिउँसो र रातिसमेत स्थानीयका घर–घर पुगेर चाडबाडमा कुनै चोरी, डकैती, धाकधम्की र अन्य खतरा भए तुरुन्त प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिरहेका छन् । बम, बारुद, पटाका नपड्काउन सचेत गर्दै स्थानीयलाई चाडबाडको शुभकामनासमेत दिइरहेका छन् ।
चाडबाडलक्षित योजना बनाएर दिनहुँ वडाका कम्तीमा १५ घर पुग्नु गजुरमुखी प्रहरीको दिनचर्याझैं भएको छ । गत सोमबारदेखि नै उनीहरू बिहानदेखि रातिसम्म स्थानीयका घर–घरमै देखिनेगरेका छन् ।
असई बेलुुप्रसाद भेटवालको कमान्डमा रहेको प्रहरी टोलीले १६ देखि २० घन्टासम्म घरलौरी गस्ती गरिरहेको छ । माङ्सेबुङ वडा १ को आधा भाग र सीमा जोडिएको फाकफोकथुम गाउँपालिका ५, लुम्दे क्षेत्र यो चौकीको कार्यक्षेत्र हो । ४ प्रहरी कार्यरत चौकीमा एउटा मोटरसाइकल छ । ‘कुनै बेला मोटरसाइकलमा र कुनैबेला पैदल नै हिँडेर गस्ती गर्दैछौं,’ एक प्रहरी भन्छन्, ‘भौगोलिक हिसाबले जटिल भएपनि आफ्नो कर्तव्य पूरा गरिरहेका छौं ।’
चाडबाडका बेला अरूहरू घर-परिवारसँग भेला भएर रमाइरहँदा सुरक्षाकर्मीको चाहिँ महत्वपूर्ण र संवेदनशील जिम्मेवारी यहीबेला हुनेगरेको अर्का एक प्रहरी बताउँछन् । ‘हाम्रा पनि छोराछोरी, परिवार, आफन्त हुन्छन्, अरू समय नसकेपनि चाडबाडका बेला नै परिवारसँग रमाइलो गरौं भन्ने त सबैलाई लागिहाल्छ नि,’ उनी भन्छन्, ‘तर, हामीले हाम्रो कर्तव्य बुझेका छौं, अरूले शान्तिपूर्वक चाडबाड मनाउन पाउने वातावरण बनाउनुमै हामी आफ्नो विशेष कर्तव्य पूरा भएको ठानेर रमाउँछौं, सुरक्षाकर्मीका लागि यो सामान्य रूपमा लिनुपर्छ ।’
असई भेटवाल १० महिनाअघि मोरङ सिजुवाअन्तर्गतको झुर्किया प्रहरी चौकीमा रहँदा चाडबाडका बेला गाउँघरको सुरक्षा अवस्था निकै जोखिमपूर्ण देखेका थिए । ठूला चोरी, डकैती, अपराध पनि यहीबेला हुन्छन् भन्ने देखेका थिए । अरू बेलाभन्दा चाडबाडका बेला सुरक्षा निकै संवेदनशील हुन्छ भन्ने बुुझेपछि उनले गजुरमुखीमा पनि चाडबाडलक्षित सुरक्षाअन्तर्गत विशेष गस्ती गर्ने, स्थानीयलाई निर्धक्कसँग, शान्तिपूर्वक चाडबाड मनाउने वातावरण बनाउने योजना कार्यान्वयन गरेको बताए ।
जिल्ला प्रशासन कार्यालयले पनि यहाँका गजुरमुखीका प्रहरीले चाडबाडका बेला जिम्मेवारीपूर्वक कर्तव्य पूरा गरिरहेको पाएको जनाएको छ । सिडिओ लक्ष्मण ढकालले गजुरमुखीका प्रहरीले रातिसमेत स्थानीयको घर–घर गएर चाडबाडको सुरक्षाबारे गस्ती गरिरहेको भिडियो सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘चित्र, शब्द, दृश्यले जे–जे बोल्छन्, त्यही सत्य हो । गर्नुपर्ने यथार्थ ।’
तपाईको प्रतिक्रिया