इलाम- इलाम नगरपालिका ९, गोलखर्क भञ्ज्याङमा प्रहरीले ट्रकबाट ४१ बोरा गाँजा बरामद गरेको छ । पाँचथरतर्फबाट आएको ना ४ ख ८०९६ नम्बरको ट्रकमा शंका लागि चेकजाँच गर्दा १ हजार पाँच सय ४ किलो गाँजा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवीदत्त मोतेको कमान्डमा रहेको प्रहरी टोलीले गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । मंगलबार साँझ ६ः३५ बजे यो ट्रक फिक्कलतर्फ जाँन खोज्दैथियो । तर, केही दिनयता गोलाखर्कबाट राजदुवालीतर्फ ठूला सवारी साधन बन्द गरिएका कारण प्रहरीले ट्रकलाई इलाम–झापा फास्ट ट्र्याकतिर पठाउन प्रयास गरेको थियो ।
प्रहरीले त्यता पठाउन खोज्दा चालकले गाडी रोक्न नखोजी सरासर लैजान खोजेका थिए । गाडी रोकिएपछि चालक गाडी स्टार्टमै छाडेर ‘गाडीमा समस्या आयो’ भन्दै बाहिरिएका थिए । त्यसपछि प्रहरीले शंका लागि गाडी जाँच गरेको थियो । त्यसबेलासम्म चालक त्यहाँ थिएनन् ।
जिल्ला प्रहरी प्रमुख एसपी कुलदीप चन्दले भने, ‘ट्रकमा बाहिरबाट हेर्दा खाली देखिन्छ तर चालक बस्ने ठीक पछाडि डालीमा केही भाग छुट्टै पाटेसन गरी अलग्गै कोठा (फल्स बटम) बनाएर गाँजा लोड गरेको पाइयो ।’
उनका अनुसार यो ट्रक मेची राजमार्गको इलाम-पाँचथर सीमा राँके, नेपालटार, इलाम बजार हुँदै गोलाखर्कबाट राजदुवाली भएर फिक्कलतर्फ जानलागेको थियो । ‘यो कुन जिल्लाबाट ल्याइएको थियो भन्ने खुल्न सकेको छैन,’ एसपी चन्दले भने, ‘यो रुटमा यति ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।’ उनका अनुसार पहाडी जिल्लाबाट तराई वा भारततिर लैजान यो बाटो प्रयोग गरिएको हुनसक्छ ।
तपाईको प्रतिक्रिया