समाज

मन मिले काम हुन्छ भन्ने उदारण कृष्णबहादुरको घर

शुक्रबार असोज १६, २०८३/ Friday 10-02-26

इलाम– बोली राम्रो बुझिँदैन, सधैं ज्याला मजदुरीमै दिन बित्छ तर, पनि गाउँघर–छरछिमेकमा  निकै हँसिला कृष्णबहादुरको सोमबारको खुशी अझै फरक थियो । 

बाँसको टाटीले बनाएको घर, बाँसले च्यापेको छानो मुनिनै ५८ वर्ष बिताएका इलाम नगरपालिका–५ भोर्लेनीका कृष्णबहादुर लिम्बूलाई यसपटक भने गाउँले मिलेर सिमेन्टले बनेको तीन कोठे घर बनाइ दिए । 

लिम्बू परम्परा अनुसार गएको सोमबार बिहान कृष्णबहादुर र उनको परिवारलाई गृह प्रवेश पनि गराइयो । जस्तापाताको छानो भएको सिमेन्टको पक्की घर त कृष्णबहादुरका लागि सपना जस्तै थियो । 

नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व अध्यक्ष सटेन्द्र जबेगूले कृष्णबहादुरको घर बनाउन गएको फागुन–चैतमा चलाएको अभियानले अन्ततः पुरा रुप लियो ।  गाउँलेहरु, दाताहरु सबै मिलेर कृष्णबहादुरलाई च्याब्रुङ बजाएर गृह प्रवेश गराउँदा कृष्णबहादुर उहाँकी पत्नी, छोरी सहित गाउँलेमा उत्साह उत्तिकै देखिन्थ्यो । 

‘एउटा बौद्धिक अपाङ्गता भएको व्यक्ति र उनको परिवारलाई हामीले के सहयोग गर्न सक्छौं भन्ने लाग्यो, एक दिन कृष्णबहादुरलाई सोधें, उनले यो ठाउँ देखाएर राम्रो घर बनाउने इच्छा रहेको मलाइ बताए । उनको कमजोर आर्थिक अवस्था, शारीरिक तथा स्वास्थ्य अवस्था सबै सम्झँदा कसरी पुरा  होला भन्ने मैले सोचें ।’ नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व अध्यक्ष जबेगूले भने ‘पहिलो कुरा मानवीय नाता,  एउटा गाउँले मात्र होइन, शारीरि अशक्तता, दिन भर रोजगारी गरेर छाक टार्ने उनलाई त्यही उनको सपनाको घर बनाइ दिन पाए हुन्थ्यो भन्ने लाग्यो ।’ जबेगूले भने । 

‘कृष्णबहादुरको राम्रो घरमा बस्ने सपना पुरा गराउन दुुईचार जना साथीभाई सँग कुरा भयो, अहिलेको सामाजिक सञ्जालले पनि साथ थियो ।’ जबेगू भन्छन् ‘कृष्णबहादुरको घर बनाउने कुरा  सामाजिक सञ्जालमार्फत थाह पाएर देश विदेशबाट शुभेच्छुकहरुले एकै व्यक्तिबाट पाँच सय देखि ५२ हजार रुपियाँ सम्म नगद सहयोग गर्नुभयो । छर–छिमेक  र  गाउँलेले हजारौं रुपियाँ बराबरको श्रमदान गर्नुभयो । कतिले सिमेन्ट, गिटि, बलुवा, काठ–पात सहयोग गर्नुभयो ।’  सबैको सहयोग पछि कृष्णबहादुरलाई नयाँ घरमा प्रवेश गराउन सफल भएको जबेगूको भनाइ छ । 
कृष्णबहादुरको घरका लागि इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौड्याल, स्थानीय युवा ठाकुर श्रेष्ठ, यातायात व्यवसायी गृष्म सुब्बा, स्थानीय वडा कार्यालय सहित धेरै युवा र गाउँलेले साथ दिएको बताइएको छ । 

‘आज कृष्णबहादुर व्यक्तिले एउटा घर पाए तर, उनलाई घर दिलाउनका लागि सबैले देखाएको सामाजिक एकताको यो उच्चतम नमुना हो भन्ने लाग्यो ।’ स्थानीय युवा ठाकुर श्रेष्ठले भने ‘धेरै सहयोगीले आफूले कमाएको थोरै–थोरै रकम जुटाएर गरेको यो सहयोग अन्य स्थानहरुका लागि र एउटा गरिब परिवारको उद्धारका लागि पनि उदारणीय बन्न सक्छ भन्ने हाम्रो बुझाइ छ । हामी धेरै खुशी छौं ।’

दाताहरुबाट संकलन भएको नगद छ लाख रुपियाँ र गाउँलेको श्रमदान गरि करिब दश लाख रुपियाँ खर्च गरेर कृष्णबहादुरको घर सहित शौचालय र स्नान घर निर्माण सम्पन्न भएको अभियान्ता जबेगूले बताए । ‘अझै सुत्ने राम्रो खाट र लुुगाफाटो पुुगेको छैन । दाताले दिएका साना खाटहरु छन् । ओच्छ्याउने लुुगाफाटो पनि आवश्यक छ ।’ जबेगूूले भने । ‘तर अब ठूलो हावाहुरी, पानी आएपनि कृष्णबहादुरलाई हामीले सुरक्षित राख्न सफल भएका छौं । त्यसमा ढुक्क छौं ।’ दुुई छोरी र एक छोरा रहेका कृष्णबहादुर दम्पदी सँग अहिले नौं वर्षीया कान्छी छोरी मात्र छन्  । जेठी छोरीका विवाह भएपनि छोरा भने आफन्तकोमा झापा तिर रहेको बताइएको छ । 

एउटा गरिब परिवार माथि स्थानीय युवाहरुले देखाएको यो सहयोगको भावना जिल्लामै निकै उदारणीय रहेको इलाम नगरपालिका –५ का वडाध्यक्ष काजीबहादुर श्रेष्ठ बताउँछन् । 

त्यसोत कृष्णबहादुर बौद्धिक अपाङ्गता भएका व्यक्ति भएपनि सबैका लागि निकै प्रिय पनि हुन् । गाउँघरमा दिनभर ज्याला मदजुरी गरेरै खाने भएपनि अन्य व्यक्तिको बोली, हाँसो, हिंडाइलगायतका विभिन्न गतिविधिलाई नक्कल गरेर ठ्याक्कै जस्ताको तस्तै देखाउने कृष्णबहादुरले कहिलेकाहीं त छरछिमेकीलाई चकितनै पार्ने गरेका छन् ।  ‘यिनीसँग बस्यो भने त दिन बितेको पत्तै हुँदैन, सानै देखि उनमा छुट्टै प्रतिभा छ । हामी पनि हाँसेको हाँसेकै दिन बिताइन्छ ।’ स्थानीय अर्का युवा राजन दाहाल बताउँछन् । सोमबार नयाँ घरमा प्रवेश गरेपछि पनि कृष्णबहादुरले भेला भएका छिमेकी र आफन्तलाई त्यसरीनै हँसाएर खुशी साटेका थिए ।    

 

तपाईको प्रतिक्रिया