माइजोगमाई (इलाम)- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इलामबाट १७ वर्षे युवक क्षेत्रीय प्रतिनिधि चुनिएका छन् । उनी इलाम जिल्लाकै कान्छो क्षेत्रीय प्रतिनिधि भएको पार्टीको दाबी छ ।
माइजोगमाई गाउँपालिका–५ सोयाङकाट सुजल चापागाईं क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन् । ३५ वर्षमुनिको युवा कोटाबाट चापागाईं जिल्लाकै कान्छा क्षेत्रीय प्रतिनिधि भएको कांग्रेस माइजोगमाई गाउँ समितिको भनाइ छ ।
विद्यार्थी संगठनमार्फत् राजनीतिक तथा पार्टी संगठनमा सक्रिय चापागाईं कम उमेरमै यो जिम्मेवारीमा पुगेका हुन् ।
कांग्रेसका स्थानीय युवा नेता सुमन बेघाका अनुसार अहिलेसम्म जानकारीमा रहेसम्म चापागाईं नै देशभरबाट कांग्रेसको इतिहासमै सबैभन्दा कम उमेरका क्षेत्रीय प्रतिनिधि हुनसक्छन् । यद्यपि, देशभरबाट चयन भएका विभिन्न उमेर समूहका क्षेत्रीय प्रतिनिधिको उमेर विवरण पूर्ण रूपमा खुलिनसकेकाले यसको पुष्टि भइसकेको छैन ।
कांग्रेस गाउँ समिति सचिव प्रदीप खड्काका अनुसार उपलब्ध विवरणका आधारमा चापागाईं इलाम जिल्लाकै कान्छा क्षेत्रीय प्रतिनिधि हुन् ।
बुबा उमाकान्त र आमा नुमादेवी काफ्ले (चापागाईं)को कोखबाट जन्मिएका सुजलले नयाँबजारस्थित अमर कल्याण माध्यमिक विद्यालयबाट १२ कक्षासम्मको अध्ययन पूरा गरेका छन् । उनी हाल इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत छन् ।
तपाईको प्रतिक्रिया