खेलकुद

बडादसैं कप : उद्घाटन खेलमा छिन्टापु र सायाबुङ विजयी

बुधबार असोज २८, २०८३/ Wednesday 10-14-26

इलाम- इलामको सन्दकपुर गाउँपालिका-२, माइमझुवामा बडादसैँ अवसरमा आज सुरु बडादसैँ कप-२०८३ अन्तर्गत उद्घाटनका दुई खेल सम्पन्न भएका छन् । 

उद्घाटन खेलमा छिन्टापु स्पोर्टिङ क्लब विजयी हुँदा दोस्रो खेलमा सायाबुङ फुटबल क्लबले जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

पहिलो खेलमा छिन्टापु स्पोर्टिङ क्लबले यङ ब्वाइज फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

खेलको पहिलो हाफको अन्तिम समयमा यङ ब्वाइजका सुसन राईले कर्नरबाट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफमा छिन्टापुका सुजित गुरुङले गोल गर्दै टोलीलाई खेलमा फर्काए । निर्धारित समयको बाँकी अवधिमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा बाजी मार्दै छिन्टापु स्पोर्टिङ क्लबले प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

दोस्रो खेलमा सायाबुङ फुटबल क्लबले छाँगे झरना स्पोर्टिङ क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा जित निकालेसँगै सायाबुङ फुटबल क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ ।

छिन्टापु स्पोर्टिङ क्लबको आयोजनामा सुरु प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक ६ गते हुनेछ । श्याम्बल माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेता टोलीले नगद ८१ हजार रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ४१ हजार रुपैयाँ पाउनेछ ।

प्रतियोगिताअन्तर्गत अन्तरविद्यालयतर्फको विजेता टोलीले नगद १० हजार रुपैयाँ र उपविजेता टोलीले ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया