सरु संगीत राष्ट्रिय पुरस्कार गायिका मीरा राणालाई
इलाम- यस वर्षको ‘सरु संगीत राष्ट्रिय पुरस्कार’ अग्रज गायिका मीरा राणालाई अर्पण गरिएको छ । ललितपुर महालक्ष्मी नगरपालिका ५ मा सरु संगीत घरले गायिका राणालाई नगद २५ हजार ५ सय ५ रुपैयाँसहित सम्मान गरेको हो ।
राणाले नेपाली आधुनिक गीत-संगीत क्षेत्रमा ६ दशकदेखि योगदान गरिरहेकी छिन् । ललितपुर टीकाथलीमा आयोजित विशेष समारोहमा अग्रज संगीतकार सिके रसाइली, गायक तथा संगीतकार कोमल निरौलालगायतले गायिका राणालाई दोसल्ला ओढाइ सम्मानपत्र र नगद पुरस्कार अर्पण गरे ।
संगीतकार कोमल निरौलाको संयोजकत्वमा गायक तथा संगीतकार सूर्य थुलुङ, गायिका लोचन भट्टराई, लेखक डा.रत्नमणि नेपाल र सदस्यसचिव डेनी निरौलासहितको छनोट समितिले राणाको नाम सर्वसम्मत रूपमा पुरस्कारका लागि छनोट गरेको थियो ।
स्वदेश वा विदेशमा रहेर गीत–संगीतमा योगदान गरेका ४० वर्ष उमेर पूरा गरेका महिलालाई यो सम्मान अर्पण गर्ने गरिएको सदस्य–सचिव निरौलाले जानकारी दिए ।
२०८२ सालको यो पुरस्कार चर्चित लोकगायिका कविता आलेलाई अर्पण गरिएको थियो ।
गृहजिल्ला इलाम नै रहेको निरौला परिवारले पुरस्कार स्थापना गरेको हो । गायक तथा संगीतकार कोमल निरौलाकी पत्नी एवं गायक–संगीतकार डेनी निरौला र गायिका झुमा निरौला तथा भीषण निरौलाकी आमा सरस्वती निरौलाको स्मृतिमा २०८२ सालमा पुरस्कार स्थापना गरिएको हो । पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोष खडा गरिएको छ ।
स्वर्गीय सरस्वती निरौलाको स्मृतिमा उनका पति संगीतकार कोमल निरौला, इन्दिरा निरौला, छोरा संगीतकार डेनी निरौला, सविता नेपाल निरौला, संगीतकार भीषण निरौला, सिर्जना अधिकारी, छोरी गायिका झुमा निरौला र सविन भट्टराईको संयुक्त प्रयासमा २०८२ सालमा पुरस्कार स्थापना गरिएको हो।
सरु संगीत घरको छैटौं वार्षिकोत्सवका अवसरमा आयोजित उक्त समारोहमा क्यान्सरपीडित लोक गायिका कोपिला गौतमलाई पनि १५ हजार १ सय १५ रुपैयाँ नगदसहित सम्मान गरिएको छ । संगीतघरका प्रशिक्षार्थी ध्रुव थापालगायतलाई पनि सम्मानपत्र प्रदान गरिएको छ ।
सम्मानित भएपछि गायिका राणाले गीत गाएर ६१ वर्ष बितेको आफूलाई पत्तो नै नभएको सुनाइन् । ‘कहिल्यै पैसा लिएर गीत गाउँछु भनेर संगीत क्षेत्रमा आएकी होइन म,’ उनले भनिन्, ‘लोक, आधुनिक, पप, शास्त्रीयलगायत गीत गाएँ, मैले कहिल्यै पैसा लिइनँ, एकपटक शम्भुजित बाँस्कोटाले तीन हजार दिनुभएको थियो, त्योबाहेक गीत गाएको पैसा लिइनँ मैले ।’ उनले १ हजार ६ सयभन्दा धेरै गीत गाएकी छिन् ।
.jpg)
तपाईको प्रतिक्रिया